कलैया । जिल्ला प्रहरी कार्यालय बाराले वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको पिकअप भ्यानबाट अवैध चकलेट बरामद गरी एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिल बिजकभन्दा फरक सामान ओसारपसार गरेको आरोपमा प्रहरीले अन्दाजी रु. १ लाख ५० हजार बराबरको चकलेट जफत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा मंगलबार बिहान कलैया उप–महानगरपालिका वडा नं. १, बालमन्दिरस्थित सडकखण्डमा ना २ च १३०४ नम्बरको पिकअपलाई रोकेको थियो ।
चेकजाँचका क्रममा उक्त पिकअपमा ६३ कार्टुन र १५ बोरा चकलेट फेला परेको थियो । बरामद सामानको अनुमानित बजार मूल्य रु. १ लाख ५० हजार रहेको बारा प्रहरीले जनाएको छ ।
प्रहरीले सामान र पिकअप सहित एजनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बस्ने अन्दाजी वर्ष २८ का ऋषी पटेल रहेका छन् ।
पिकअप भ्यान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्ति सूचना अधिकारी प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी दिए ।

