वीरगञ्ज। पर्सा प्रहरीले ठूलो मात्रामा लागु औषध चरेशसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १५, प्रतिमा चोकस्थित सडकखण्डबाट करिब १० के।जी। चरेशसहित एक पुरुषलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार बिहान शंकास्पद रूपमा पैदल हिँडिरहेका धोबिनी गाउँपालिका वडा नं.५, धोबिनी बस्ने वर्ष ४८ का सम्सुल मियाँलाई रोकेर खानतलासी गरेको थियो।
प्रहरीका अनुसार मियाँले बोकेको कालो ब्यागभित्र प्लाष्टिकले बेरेर लुकाइ–छिपाई राखिएको अवस्थामा १० के.जी. लागु औषध चरेश (जस्तो देखिने पदार्थ) फेला परेको थियो।
बरामद लागु औषधसहित मियाँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। प्रहरीले निजमाथि लागु औषधसम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
नेपालको लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार १० किलोभन्दा माथि गाँजाओसारपसार वा सञ्चय गरेको खण्डमा कसुर अनुसार २ वर्षदेखि १० वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था रहेको छ।
पक्राउ परेका मियाँमाथि अब सोही कानुनअनुसार अनुसन्धान अगाडि बढाईने प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

