जनकपुरधाम। जनकपुरधाममा हरेक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजबाट औपचारिक रूपमा सुरु भएको छ। पहिलो दिनको नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्वको थालनी गरिएको छ।
कार्यक्रमअनुसार मंसिर ५–१० सम्म क्रमशः फूलबारी लीला, धनुषयज्ञ, तीलकोत्सव, मटकोर, स्वयंवर तथा शुभ विवाह र अन्त्यमा रामकलेवा गरिनेछ।
जानकी मन्दिर, रङ्गभूमि मैदान र बाह्रबिघा क्षेत्रभर सजावट, पण्डाल निर्माण र इलुमिनेसन का अन्तिम तयारी जारी छन्। पर्वका मुख्य कार्यक्रमहरू जानकी मन्दिर परिसर र बाह्रबिघा रङ्गभूमिमा केन्द्रित रहनेछन्।
नेपाल–भारतका विभिन्न क्षेत्रबाट लाखौँ भक्तजन आउने अपेक्षा गरिएको छ। अयोध्या, ऋषिकेश, हरिद्वारलगायत स्थानका साधु–सन्तको पनि उल्लेख्य उपस्थिति रहनेछ।
यस वर्ष सरकारबाट सहयोग नपाएको भन्दै मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गुनासो व्यक्त गरेका छन्। भीड व्यवस्थापन र सुरक्षाका लागि प्रहरी प्रशासन उच्च सतर्कतामा रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताएका छन्।
