जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले सामाजिक सञ्जाल समूहमार्फत सांसदहरूलाई बैठकसम्बन्धी जानकारी पठाएको हो।
गत कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ सांसदले सभामुख मण्डलले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गराएका थिए। कानुनअनुसार प्रस्ताव दर्तापछि एक साताभित्र सदनमा छलफल गर्नुपर्ने व्यवस्था छ।
उपसभामुख बबिता राउत ईशरको निर्देशनमा बैठक आह्वान गरिएको हो। मंगलबार गठबन्धनका ३२ सांसदले उपसभामुखलाई बैठक बोलाउन लिखित माग गरेका थिए।
