काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेपछि सोमबार मध्यराति प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
गत चैत १५ मा तीनकुनेमा उनको नेतृत्वमा भएको राजावादी आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो। गिरफ्तारीपछि समर्थकहरूले प्रदर्शन गर्ने सम्भावनामा उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
