काठमाडौं । डिकल कलेज व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंलाई ‘हिंसा भड्किने तथा सुरक्षा व्यवस्थामा खलल पुर्याउने किसिमका अराजक अभिव्यक्ति’ दिएको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ विवरण
समय: सोमबार राति करिब १० बजे
स्थान: प्रसाईंको भक्तपुरस्थित निवास
पक्राउ गर्ने टोली: जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली
अभियोग: सार्वजनिक रूपमा हिंसा भड्काउने, राज्यको शान्ति–सुरक्षामा खलल पुर्याउने प्रकृतिका अभिव्यक्ति
प्रहरी स्रोतका अनुसार पक्राउपछि प्रसाईंलाई तुरंत काठमाडौं पठाइएको छ। उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाइनेछ।
सुरक्षा उच्च सतर्कता
पछिल्लो समय प्रसाईंले राजावादी समूहहरूलाई समेत एकीकृत गर्दै संघीयता खारेजीसहितका माग राखेर ‘सशक्त आन्दोलन’ को तयारी गर्दै आएका थिए। सम्भावित भीडभाड तथा अराजक गतिविधिको जोखिमलाई ध्यानमा राख्दै सरकारले उपत्यकाको सुरक्षा व्यवस्था थप कडा पारेको स्रोतले बताएको छ।
पृष्ठभूमि
यसअघि पनि प्रसाईं चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन नेतृत्व गरेको आरोपमा पक्राउ परेका थिए। समय–समयमा विवादास्पद अभिव्यक्ति र आह्वानका कारण उनी लगातार सुरक्षा निकायको निगरानीमा रहे आए।
