वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दायर गरेको रिट आज (मंसिर २) सर्वोच्च अदालतमा न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा परेको छ।
सोमबार बहसका लागि पर्याप्त समय नपरेकाले रिटलाई अग्राधिकार दिँदै आजको पेसी तोकिएको हो। यसअघि आइतबार तोकिएको पेसी आदेश संशोधनका कारण सारिएको थियो।
रिटमा संविधानको धारा १६८(३) अनुसार सरोज यादवलाई गरिएको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको दाबी छ। पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिँदै राजीनामा दिएपछि धारा १६८(२) अनुसार पुनः आह्वान गर्नुपर्नेमा नियुक्ति गलत भएको निवेदक पक्षको तर्क छ।
७४ प्रदेशसभा सदस्यको वारेस भएको रिटमा अन्तरिम आदेश माग गरिएको छ। यसअघि कामचलाउ अवस्थामा रहेका मुख्यमन्त्रीलाई दीर्घकालीन निर्णय नगर्न आदेश जारी भइसकेको छ।
यदि अन्तरिम आदेश जारी भए नयाँ सरकार गठनको बाटो खुल्ने सम्भावना देखिएको छ।
