काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय थप नगर्ने निर्णय गरेको छ। बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेपछि समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका प्रभावित हुने जानकारी दिएका थिए।
नामावली दर्ता अवधि नथपिने भएपछि अब राष्ट्रिय परिचय पत्रका लागि संकलन गरिएको बायोमेट्रिक तथ्यांकबाट नयाँ मतदाता सूचीकृत गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगको छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले परिचय पत्र वितरणका क्रममा संकलित जैविक तथ्यांक आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए। आजदेखि परिचय पत्र बनाएका तर नामावलीमा नपरेका नागरिकलाई पनि सूचीकृत गर्ने व्यवस्था मिलाइएको बताइएको छ।
