काठमाडौं । राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नागरिकले अब मतदाता नामावलीका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन। निर्वाचन आयोगले आजदेखि लागू हुने गरी अनलाइनमार्फत फारम भरेपछि राष्ट्रिय परिचयपत्रमा रहेका विवरण स्वतः मतदाता नामावलीमा समावेश गर्ने व्यवस्था गरेको हो।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, आयोगले राष्ट्रिय परिचयपत्रमा रहेको बायोमेट्रिक विवरणलाई अनलाइन फारमसँग जोडेर छानबिनपछि नामावली प्रकाशन गर्ने निर्णय गरेको छ।
“हाम्रो राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक अनलाइन निवेदनमा ल्याएर प्रयोग गर्ने निर्णय गरेका छौं,” उनले भने, “यसले नागरिकका मागलाई सम्बोधन गर्दै नामावली दर्ता प्रक्रिया सहज बनाउनेछ।”
जेनजी प्रतिनिधिहरूसँगको छलफलपछि आयोगले उक्त निर्णय गरेको हो। भण्डारीका अनुसार, यसका लागि बुधबार राति नै प्राविधिक तयारी सम्पन्न गरिएको थियो।
अहिले धेरै नागरिकले राष्ट्रिय परिचयपत्र बनाइसकेकाले मतदाता नामावली दर्ता सहज हुने आयोगको विश्वास छ। आयोगका अनुसार, राष्ट्रिय परिचयपत्र भएका नागरिकलाई अब मतदाता नामावलीका लागि फोटो खिचाउने वा बायोमेट्रिक गराउनुपर्ने छैन।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले भने, “राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन फारम भरे पुग्छ। तर, परिचयपत्र नभएकाले भने बायोमेट्रिकका लागि कार्यालय आउनैपर्छ।”
सरकारले मतदाता नामावली दर्ताको समय सीमा आगामी कात्तिक ३० गतेसम्म तोकेको छ। बाँकी तीन दिनमा ठूलो संख्यामा दर्ता हुन सक्ने भएकाले आयोगले यो व्यवस्था ल्याएको बताइएको छ।

