ललितपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्ला वर्षहरूमा पार्टी छाड्न बाध्य भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई “संकोच र अप्ठ्यारो नमानी” पुरानै घर फर्किन खुला आह्वान गरेका छन्।
इमाडोल, ललितपुरमा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष यादवले जसपाको ढोका “सधैँ खुला” रहेको बताए।
यादवका अनुसार पार्टी स्थापनाकालदेखि अहिलेसम्म कुनै पनि कारणले असन्तुष्ट भएर बाहिरिएका कार्यकर्ता–नेता सबैलाई पुनः स्वागत गरिने छ।
यादवले भने,
“जसपा नेपाल सबैको साझा संगठन हो। जुनसुकै कारणले पार्टी परित्याग गरे पनि फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन।”
पार्टीले बदलिँदो राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै संगठनलाई अझ सबल, समावेशी र बृहत् बनाउन “पुरानै घर फर्कने अभियान”लाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।
अध्यक्ष यादवले फर्कने नेता–कार्यकर्ताहरूलाई उनीहरूको क्षमता, दक्षता र योग्यता अनुसार उचित स्थान र जिम्मेवारी दिइने भरोसा समेत दिलाएका छन्।
