काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको छ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा केही दिनअघि राजनीतिक दल र विभिन्न मित्र राष्ट्रहरूलाई लक्षित गरी आपत्तिजनक शब्दसहित लेखेको स्टाटसलाई लिएर युवा संघले बिहीबार दिउँसो जाहेरी दिएको हो।
युवा संघका नेताहरू साइबर ब्युरो पुगेर जाहेरी बुझाएका थिए। मेयर शाहले केही समयपछि उक्त विवादास्पद स्टाटस सामाजिक सञ्जालबाट हटाए पनि त्यसको विरोध भने भइरहेको छ।
जाहेरीमा युवा संघले सार्वजनिक पदमा बसेको व्यक्तिले नेपालका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेका राजनीतिक दलहरूलाई गालीगलौज गरी सार्वजनिक शान्ति खलल हुनेगरी स्ट्याटस लेखेको आरोप लगाएको छ।
साथै, उक्त स्ट्याटसले राजनीतिक दल र मित्र राष्ट्रहरूको मानमर्दन गरेको र मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउन सक्ने पनि उनीहरूको दाबी छ।
युवा संघले जाहेरीमा प्रचलित कानुनअनुसार मेयर शाहलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ। यसका साथै, उनीहरूले शाहलाई तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र उनको राहदानी रोक्का गर्न पनि माग गरेका छन्।
साइबर ब्युरोमा उजुरी परेको विषयमा बुझ्ने काम भइरहेको जानकारी प्रहरी स्रोतले दिएको छ। यस सम्बन्धमा प्रहरीले सरकारी वकिलसँग पनि छलफल गर्ने जनाएको छ।
