काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान र लोकतन्त्र गम्भीर संकटतर्फ धकेलिएको भन्दै परिस्थिति जे भए पनि कांग्रेसले चुनावमा जानैपर्ने धारणा राखेकी छन्।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्दै उनले ‘जेनजी’ आन्दोलनपछिको अराजकताले “राष्ट्रका सबै अंग तहसनहस” भएको र संविधान अहिले “एउटा टेकोमा अडिएको” अवस्थामा पुगेको टिप्पणी गरिन्।
प्रसाईंले भनिन्,
“यस्तो अवस्थामा नेपालका एउटा मात्र लोकतान्त्रिक पार्टीले चुनावमा जान्छौँ भनेर तत्काल निर्णय गरौँ। चुनावले मात्र संविधानको रक्षा गर्छ।”
उनका अनुसार चुनाव कांग्रेसका लागि प्रतिकूल भए पनि पछि हट्ने अवस्था छैन।
“हामी जीत्छौँ कि हार्छौँ भनेर हिसाब गर्ने समय होइन। हार्ने निश्चित छ भने पनि चुनावमा गएर संविधान जोगाउनुपर्छ,” उनले भनिन्, “संविधान र लोकतन्त्र रहे कांग्रेस फेरि उठ्छ।”
कूटनीति, छिमेकी राष्ट्रको भूमिका र महाधिवेशन विवाद
प्रसाईंले अबको कूटनीतिक बाटो र छिमेकी राष्ट्रसँग सम्बन्ध व्यवस्थापनबारे कांग्रेसले गम्भीर छलफल गर्नुपर्ने पनि बताइन्।
विशेष महाधिवेशन माग गर्दै आएका ५४ प्रतिशतले अन्ततः नियमित महाधिवेशनकै पक्षमा प्राथमिकता दिएको भन्दै उनले यही केन्द्रीय समितिबाट स्पष्ट कार्यतालिका लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।
‘बहुमतले पेल्ने प्रवृत्तिले पार्टी विवाद बढायो’
उनका अनुसार एक वर्षअघि नै डा. शेखर कोइरालाले नियमित समयमा महाधिवेशन गर्नुपर्ने धारणा राखेका भए पनि बहुमतको नाममा पेल्ने र पदाधिकारीहरू त्यसैमा उभिने प्रवृत्तिले अहिलेको विवाद चुलिएको हो।
प्रसाईंले भनिन्,
“हिजो डा. शेखर कोइरालाको प्रस्तावअनुसार अघि बढेको भए पार्टी अहिले नियमित महाधिवेशनको अन्तिम चरणमा हुन्थ्यो। जायज माग र सुझाव नसुन्ने प्रवृत्तिले नै देशमा असन्तोष र आक्रोश बढाएको छ।”
