वीरगन्ज। मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले जनमत पार्टी विभाजन सम्बन्धी मुद्दामा अदालतको पछिल्लो आदेशपछि आफ्नो प्रतिक्रिया दिएका छन्।
उनले अदालतको निर्णयलाई लिएर अहिले नै कसैले धेरै खुसी हुने वा दुःखी हुने अवस्था नआएको स्पष्ट पारेका छन्।
सिंहले भनेका छन्, ‘यति खुशी हुने कुनै कारण छैन, न त कसैलाई मातम मनाउनुपर्ने अवस्था नै आएको छ। फिल्म त अहिले कास्टिङमै छ, इन्टरभल पनि भएको छैन। फिल्म सकिन अझ समय छ, त्यसैले धैर्य धारण गरौं।’
जनमत पार्टीको विभाजन सम्बन्धी कानुनी प्रक्रिया जारी रहँदा पूर्व मुख्यमन्त्री सिंहको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उनले यस सम्पूर्ण घटनाक्रमलाई एउटा लामो प्रक्रियाको रूपमा चित्रण गर्दै अन्तिम परिणाम आउन बाँकी रहेको संकेत गरेका छन्।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग सम्बन्ध चिसिएपछि मुख्यमन्त्री पदबाट राजिनामा दिन दबाव बढेको थियो । उनले राजिनामा नदिने अडान लिएपछि जनमत पार्टीले मधेस प्रदेशबाट आफ्नै नेतृत्वको सरकारबाट बाहिरिन दुईजना मन्त्रीहरुले राजिनामा दिएपछि सिंह थप दबावमा परेका थिए ।
अन्ततः विश्वासको मत लिने दिन उनले प्रदेशसभाबाट राजिनामा दिएका थिए । त्यसपछि उनी सहित दुईजना प्रदेश सांसदले जनमत पार्टी छोडेका थिए ।
