वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल हाजिर भएका छन् । गृहमन्त्रालयले कार्तिक ९ गते प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको थियो ।
सोही अनुसार दाहाल मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साको प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका हुन् । उनलाई पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, वीरगन्ज कारागारका प्रमुख बाबुलाल रेग्मी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक संतोष ढुंगेल लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी दाहाललाई जिल्ला प्रहरी कार्यालय पर्साको एक टुकडीले सलामी अर्पण गरेका थिए । स्वागत र सलामी ग्रहणपछि प्रमुख जिल्ला अधिकारी दाहालले मंगलबारदेखि कार्यालयमा हाजिर भएर कार्यसम्पादन सुरु गरेका छन् ।
प्रजिअ दाहाल दोलखाबाट पर्सामा सरुवा भएका हुन् । त्यसअघि उनी सप्तरीका प्रमुख जिल्ला अधिकारी रहेका थिए । प्रमुख जिल्ला अधिकारीको आगमनकै समयमा नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया पनि आईपुगेका छन् ।
उनी पर्सामा सुरक्षा अवस्थाको बारेमा अनुगमन निरीक्षणका लागि आएका हुन् । स्वागतपछि प्रमुख जिल्ला अधिकारी र डीआईजी थपलिया सहित पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठक लगायत सुरक्षा निकायका प्रमुखहरुको सुरक्षाको विषयमा छलफल समेत भएको छ ।
