जनकपुरधाम । नेपाल पत्रकार महसंघका मधेसले प्रदेश समितिका पूर्व अध्यक्ष वर्तमान केन्द्रीय सदस्य राजेश कर्णमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेको छ । नेपाल पत्रकार महासंघ मधेस प्रदेशले दोषीमाथि कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाको ध्यानाकर्षण गराएको छ ।
महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जरा सहित मधेस प्रदेश समितिको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटनाको बारेमा जानकारी गराउँदै दोषीमाथि कडा कारवाहीको माग गरेका हुन् । कर्णमाथि हालै भएको भौतिक आक्रमणप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा विज्ञप्ति जारी गर्दै २०८२ कार्तिक १७ गते साँझ करिब ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–४ मा पर्ने आफ्नै निवास नजिक सडकमा हिँडिरहेका बेला पत्रकार कर्णमाथि पछाडिबाट एक व्यक्तिले एक्कासि आक्रमण गरेको घटनाको निन्दा गरेको छ ।
घटनाको लगत्तै महासंघ धनुषा शाखाले दिएको जानकारी अनुसार, धनुषा प्रहरीले तत्कालै आक्रमणकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। महासंघले यस कार्यको लागि प्रहरीलाई धन्यवाद ज्ञापन गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न व्यक्ति कर्णको छिमेकी अन्दाजी २० वर्षीय दिपक राय रहेको खुलेको छ। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले यस घटनाको घोर भर्त्सना गरेको छ।
साथै, दोषीमाथि सूक्ष्म अनुसन्धान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग सशक्त माग गरेको छ। यसैबीच, आक्रमणबाट घाइते हुनुभएका पत्रकार कर्णको शीघ्र स्वास्थ्यलाभको कामना महासंघले गरेको छ।
