काठमाडौं । सन् २०२५ को अक्टोबर महिनामा नेपालको पर्यटक आगमनमा सामान्य सुधार देखिएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबर २०२५ मा कुल १ लाख २८ हजार ४ सय ४३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले मात्र बढी हो । अक्टोबर महिनामा नेपाल भित्रिने पर्यटकको संख्यामा भारत अग्रणी स्थानमा छ ।
भारतबाट १७ हजार २ सय ९८ पर्यटक आएका छन् । यसपछि अमेरिकाबाट १३ हजार २ सय ८६, बेलायतबाट ८ हजार ७ सय १८, चीनबाट ६ हजार ७ सय ५५ र जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
महादेशका आधारमा हेर्दा युरोप महादेशबाट सर्वाधिक ४० हजार ६ सय पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको एक तिहाई नजिक हो ।
यसपछि दक्षिण एशियाली देशहरूबाट २९ हजार ६०, अन्य एशियाली मुलुकहरूबाट २३ हजार १२७, अमेरिका क्षेत्रबाट १६ हजार ४ सय ७, ओसियानियाबाट ६ हजार ८ सय १४, मध्यपूर्वबाट ३ हजार ५ सय ४८, अफ्रिकाबाट ४ सय ४३ र अन्य क्षेत्रबाट ८ हजार ४ सय ४४ पर्यटक आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्मको १० महिनाको अवधिमा कुल ९ लाख ४३ हजार ७ सय १६ विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।
पर्यटन क्षेत्रको आम्दानी र लगानीमा पनि सकारात्मक संकेत देखिएको छ । २०८२ भदौ महिनामा पर्यटन क्षेत्रबाट विदेशी मुद्राजन्य आम्दानी ६ अर्ब २० करोड ७ लाख रुपैयाँ पुगेको छ ।
साथै, २०८२ असोजसम्म १ अर्ब ४६ करोड रुपैयाँ बराबरका १०३ विदेशी पर्यटन लगानी परियोजनाहरू दर्ता भएका छन् । यसले लगानीकर्ताको आकर्षण बढेको देखाउँछ ।
त्यस्तै शरद ऋतु २०२५ मा हिमाल आरोहणमा पनि उल्लेख्य सहभागिता रहेको छ । पर्यटन विभागका अनुसार ८३ देशका १ हजार ४ सय ५० आरोही सम्मिलित १७५ आरोहण टोलीले नेपाल भ्रमण गरेका छन् ।
यी आरोहण टोलीबाट सरकारले कुल २५ करोड ५१ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपाल पर्यटन बोर्डले पछिल्ला महिनाहरूमा हवाई सेवा, भिजा प्रक्रिया र प्रवर्द्धन अभियानमा भएका सुधारहरूका कारण नेपालप्रतिको अन्तर्राष्ट्रिय आकर्षण निरन्तर बढिरहेको जनाएको छ । बोर्डले आगामी महिनाहरू पर्यटनको मुख्य सिजन भएकाले पर्यटक आगमन अझै बढ्ने आशा व्यक्त गरेको छ ।
