वीरगंज । वीरगंज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ई-रिक्सा, अटो रिक्सा तथा अन्य तीन पाङ्ग्रे भाडाका सवारी साधनहरूलाई अनिवार्य रूपमा दर्ता गर्नका लागि सूचना जारी गरेको छ ।
नगरकार्यपालिकाको कार्यालयले मिति साेमबार सूचना जारी गर्दै सवारी धनीहरूलाई मंसिर ७ गतेभित्र कार्यालयमा रितपूर्वक निवेदन दिई आफ्ना सवारी साधन दर्ता गराउन अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णद्वारा जारी सूचनामा ‘ई रिक्सा, अटो रिक्सा तथा तिन पांग्रे भाडाका सावारी साधन दर्ता सम्बन्धी कार्यविधि २०७६’ बमोजिम दर्ता प्रक्रिया अगाडि बढाउन भनिएको छ ।
अनिवार्य दर्ता गर्नुपर्ने कारण
महानगरपालिकाको मापदण्डअनुसार कार्यालयमा दर्ता नभएका सवारी साधनहरूलाई रुट इजाजत प्रदान नगरिने र महानगर क्षेत्रभित्र सञ्चालन गर्न नदिने जानकारी गराइएको छ ।
सवारी धनीहरूले दर्ताका लागि निवेदन दिँदा अनुसूची बमोजिमको निवेदन फारम, सवारीधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सवारीसाधनको ब्लुबुकको प्रतिलिपी, सवारीचालक अनुमतिपत्रको प्रतिलिपी, सवारी धनी चालकको ५ प्रति फोटो, सवारी जाँचपासको प्रतिलिपी आवश्यक पर्ने जनाएको छ ।
वीरगंज महानगरपालिकाले यसअघि पनि पटकपटक सवारीसाधन दर्ताका लागि आह्वान गर्दै आएकोमा यसपटक निश्चित मिति तोकेर अन्तिम म्याद जारी गरेको छ।
