वीगन्ज । वीरगन्जमा प्रदेश सांसदको घरमा आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका–६ निवासी नेकपा एमालेबाट प्रदेशसभा सांसद रहेकी बिनादेवी शर्माको घरमा सोमबार साँझ अन्दाजी ५ः५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
आगलागीको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ता, पर्साबाट प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीसँगै वीरगञ्ज महानगरपालिकाका २ वटा दमकल र स्थानीय बासिन्दाहरूको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
साँझ करिब ६ः०० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति नभएकाले ठूलो दुर्घटना टरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
यद्यपि, आगलागीको कारण हालसम्म खुल्न बाँकी रहेको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान जारी राखेको छ।

