काठमाडौं — देशका केही स्थानमा यो साता मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। अरब सागरको महाराष्ट्र तटीय क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबार देशभरि आंशिकदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइसकेको छ भने उच्च हिमाली भेगमा हिमपात भएको छ। लुम्बिनी र गण्डकी प्रदेशमा भोलि र पर्सि हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच, बंगालको खाडीमा उत्पन्न ‘मोन्था’ नामक समुन्द्री आँधी भोलि (कात्तिक ११)देखि तीव्र हुने भारतीय मौसम विभागले जनाएको छ। उक्त आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघन्टा रहने अनुमान गरिएको छ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार, मोन्था आँधीको प्रभाव बुधबारदेखि पूर्वी नेपालमा देखिन सुरु हुनेछ। “कात्तिक १३ देखि १६ सम्म वाग्मती, मधेस र कोसी प्रदेशमा यसको बढी प्रभाव रहनेछ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार, यो आँधीका कारण केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने र मनसुनको जस्तो झल्को दिने सम्भावना छ। यद्यपि अरब सागरको प्रभावले आज र भोलि पनि देशका उच्च हिमाली क्षेत्रमा हिमपात र बादल हुने देखिएको छ।
जलवायुविज्ञ अर्यालका अनुसार, ‘मोन्था’ शब्द थाई भाषाबाट लिइएको हो, जसको अर्थ वासना भएको फूल भन्ने हुन्छ। समुन्द्री आँधीहरूको नामकरण समुद्रसँग सम्बन्धित देशहरूको भाषाबाट गरिने प्रचलन छ।

