काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवासहित सोमबार राति सिंगापुर प्रस्थान गरेका छन्।
जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा दम्पती सिंगापुर एयरलाइन्समार्फत थप उपचारका लागि त्यसतर्फ गएका हुन्।
भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा भएको कुटपिटमा उनीहरू दुबै घाइते भएका थिए। सुरक्षाकर्मीले उद्धार गरी तत्काल नेपाली सेनाको सैनिक अस्पताल, छाउनीमा उपचारका लागि लगेको थियो।
कांग्रेसका नेताहरूका अनुसार देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
घटनापछि देउवा सार्वजनिक रूपमा नदेखिए पनि असोज २८ गते कांग्रेस केन्द्रीय कार्यालयमा उपस्थित भई उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति तोकेका थिए।
निकटस्थ स्रोतका अनुसार, देउवा दम्पती सिंगापुरमा केही समय बसेर उपचारमा रहनेछन्। यसअघि पनि उनीहरू नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुग्ने गरेका थिए।

