वीरगञ्ज। व्यावसायिक साझेदारसँगको आन्तरिक विवादलाई लिएर समाचार सम्प्रेषण गरेको विषयमा पत्रकारलाई ज्यान मार्ने धम्की दिने विवादित व्यवसायी निरञ्जन अग्रवाललाई प्रेस सेन्टर नेपाल मधेस प्रदेश समितिले कडा चेतावनी दिएको छ। सञ्चारकर्मीलाई धम्क्याउने र त्रसित पार्ने हर्कत बन्द नगरे कडा आन्दोलनका साथ प्रतिकार गर्ने चेतावनी सङ्गठनले दिएको छ।
न्युज खोज तलाश डटकमका सञ्चालक, प्रेस सेन्टर मधेस प्रदेश सदस्य तथा नेपाल पत्रकार महासंघ मधेस प्रदेश परिषद् सदस्य भरत सर्राफलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिइएको घटनाप्रति ध्यान आकृष्ट गर्दै प्रेस सेन्टर मधेस प्रदेशका सचिव रञ्जीत पाण्डेयले आइतबार विज्ञप्ति जारी गरी भर्त्सना गरेका हुन्।
आफ्नो आन्तरिक व्यावसायिक साझेदारसँगको विवादमा तथ्य र सूचनाका आधारमा समाचार लेखेकै भरमा सञ्चारकर्मीमाथि ज्यान मार्ने धम्की दिनु दुःखद्, खेदजनक र भर्त्सनायोग्य भएको विज्ञप्तिमा उल्लेख छ। समाचारमा कुनै आपत्ति वा असहमति भए प्रेस काउन्सिल नेपालमा उजुरी दिने वा कानुनी उपचार खोज्ने कानुनी बाटो खुला हुँदाहुँदै धम्की दिने र गुण्डागर्दी शैली प्रदर्शन गर्ने कार्य सह्य नहुने प्रेस सेन्टरले जनाएको छ।
सङ्गठनले पत्रकार सर्राफलाई धम्की दिने व्यवसायी अग्रवालमाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गर्न जोडदार माग गरेको छ। साथै, सञ्चारकर्मीहरूले निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न र उनीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सम्बन्धित निकायहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।
यसैगरी, प्रेस सेन्टर पर्साले पनि पत्रकारमाथि हुने धम्की र दबाबका घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्दै सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
यसअघि प्रेस सेन्टर नेपाल पर्सा जिल्ला कार्य समितिले पनि विज्ञप्ति जारी गर्दै पत्रकार सर्राफलाई दिएको धम्कीको घोर भ्रत्र्सना गर्दै विवादित व्यावसायी अग्रवाललाई कानूनी कारवाही गर्न माग गरेको थियो । सेन्टरका पर्सा सचिव अजित कुमार भूजेलले विज्ञप्ति जारी गर्दै आग्रवालले पत्रकारलाई दिएको धम्कीको विरोध जनाएको थियो ।

