काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा नेपालले सीमापार हुने संगठित अपराध, आतंकवाद तथा प्राकृतिक विपद्को सामना गर्न क्षेत्रीय सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीहरू द्रुत गतिमा बढिरहेकाले भावी पुस्ताको सुरक्षित भविष्यका लागि यो ऐतिहासिक बैठक अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
नेपालको तर्फबाट स्पष्ट धारणा राख्दै उनले अपराधविरुद्धको क्षेत्रीय सहकार्य कुनै पनि सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्ने मान्यता प्रस्तुत गरे ।
यस्ता गम्भीर सुरक्षा चुनौतीहरूलाई परास्त गर्न प्रभावकारी सूचना आदानप्रदान, अत्याधुनिक प्रविधिको अधिकतम उपयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य रहेको उनको भनाइ थियो।
यसैगरी, प्राकृतिक विपत्तिले भौगोलिक सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै बिमस्टेकअन्तर्गत ुक्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्रु र ‘संयुक्त कार्यदलु’ गठन गर्ने नेपालको विशेष प्रस्ताव बैठकसमक्ष अघि सारिएको छ।
भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय छलफल बैठकको अवसरमा गृहमन्त्री र भारतीय समकक्षी अमित शाहबीच साझा सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल भएको छ।
भेटमा दुवै देशका गृहमन्त्रीहरूले द्विदेशीय सुरक्षाका आयामिक तथा नवीनतम मामिलाहरूमा आपसी समन्वय र सहकार्यलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो भेटघाटका क्रममा नेपाली उद्योगी तथा व्यापारीहरूले भारतीय बजार पहुँचका क्रममा भोग्नु परेका विविध चुनौतीहरू र भारतमा कार्यरत प्रवासी नेपालीहरूका समस्याका विषयमा समेत गम्भीर छलफल भएको थियो।
नेपाली पक्षबाट उठाइएका ती विषयहरूमा भारतीय तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको जनाइएको छ।

