सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्त (हरि) ले सल्यानमा एक भिन्न र परिणाममुखी शैली अपनाउँदै पार्टीको ‘हामी आउँदैछौँ’ अभियानको समापन गरेका छन्।
असोज २० देखि २७ गतेसम्म सञ्चालित यस अभियानको समापनका क्रममा जनताका गुनासा सुनेसँगै उनले सम्बन्धित निकायका प्रमुखहरूसँग छलफल गराएर तत्कालै समस्या समाधानको पहल गरेका हुन्।
अभियानका क्रममा सल्यानका कालिमाटी, त्रिवेणी, कपुरकोट र छत्रेश्वरी लगायतका पालिकाका स्थानीय बासिन्दा तथा कार्यकर्ताले जिल्लाबाट रास्वपाको सांसद नभएका कारण सामान्य समस्या पनि ओझेलमा परेको, स्थानीय तहमा भ्रष्टाचार र अनियमितता बढेको तथा अवैध क्रसर जस्ता विषयमा प्रहरी प्रशासनको भूमिका चित्तबुझ्दो नभएको गुनासो राखेका थिए।
जनताको उक्त गुनासोलाई गम्भीर रूपमा लिँदै सांसद पन्तले प्रमुख जिल्ला अधिकारीलाई जिल्लास्थित सम्बन्धित निकायका प्रमुखहरूको बैठक राख्न आग्रह गरेका थिए।
सांसद पन्तको पहलपछि प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सल्यानको बैठक कक्षमा विशेष बैठक बसेको थियो।
बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै कार्यालय प्रमुखहरूले जिल्लास्तरबाट समाधान हुने समस्याहरू तत्काल हल गर्ने र अन्य विषयहरू सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता जनाएका छन्।
उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसी, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र बुढा, सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातली, नेपाल विद्युत् प्राधिकरणका प्रमुख नरेश दत्त रावल र भौतिक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सिद्धार्थ मिश्र लगायतका जिल्लास्थित कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो।
स्थानीय चुनाव लक्षित यस राष्ट्रव्यापी अभियान अन्तर्गत सांसद पन्तले स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई क्यान्डिडेट क्लबमा आबद्ध हुने प्रक्रियादेखि उम्मेदवार छनोटका विभिन्न चरणहरूबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा उनले पार्टीको विधि र विधान बाहिर गएर कसैले टिकट नपाउने स्पष्ट पार्दै ढुक्क भएर संगठन निर्माणमा जुट्न र पार्टी तथा सरकारका राम्रा कामहरू जनतासमक्ष लैजान निर्देशन दिएका छन्।
अभियानको समापन कार्यक्रममा रास्वपा सल्यान जिल्ला सभापति प्रकाश नेपाली, नेताहरू रामबहादुर केसी, खड्ग बुढा, लालबहादुर विक लगायतको सहभागिता रहेको थियो।

