काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकार बीचको आपसी समन्वयमा भदौ १० गतेयताका विपद् व्यवस्थापन कार्य निरन्तर अगाडि बढिरहेको बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकार कुनै पनि सम्झौता नगरी नागरिकको सुरक्षा र विपद् व्यवस्थापनमा जुटिरहेको स्पष्ट पारे ।
गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत उपस्थिति रहेको उक्त बैठकमा प्रधानमन्त्री शाहले प्रदेश सरकारका नेतृत्वकर्ताहरूलाई आश्वस्त पारे ।
उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गरी चाँडोभन्दा चाँडो राहत तथा व्यवस्थापनका कामहरू सम्पन्न गरिने भएकाले यस विषयमा ढुक्क हुन उनले मुख्यमन्त्रीहरूलाई आग्रह गरे ।
भोटेकोशी, त्रिशूली र गण्डकी क्षेत्र लगायत देशका विभिन्न भागमा आएको बाढीपहिरोका कारण भएको क्षतिको सूक्ष्म अध्ययन भइरहेको र प्रभावित क्षेत्रको व्यवस्थापनमा सरकार तीव्र रूपमा अघि बढेको उनको भनाइ थियो।
विपद् जोखिमलाई पूर्वसूचना प्रणालीमार्फत कम गर्न सरकारले यस प्रणालीलाई थप प्रविधिमैत्री र सुदृढ बनाउन लागेको जानकारी गराउँदै उनले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तथा कार्यहरू अगाडि बढाइएको बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आफ्नो ज्यानको बाजी लगाएर उद्धार तथा राहत कार्यमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र राजनीतिक दलका प्रतिनिधिहरूप्रति विशेष धन्यवाद तथा कृतज्ञता व्यक्त गरे ।

