वीरगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साको एकता समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्जको नगरसभा गृहमा बुधबार एकता समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण सम्पन्न भएको हो । पार्टीका पर्सा संयोजक जयप्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रको प्रमुख अतिथि केन्द्रीय संयोजक तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले संयुक्तरुपमा उदघाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले सात सय ५१ सदस्यीय जिल्ला कमिटिलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि नेकपा केन्द्रीय संयोजन समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज महेन्द्र राय यादव, केन्द्रीय संयोजन समिति सदस्य तथा मधेसी मुक्ति मोर्चाका इञ्चार्ज मातृका प्रसाद यादव, प्रदेश सह–इञ्चार्ज रामकुमार भट्टराई, प्रदेश संयोजक राजु खड्का, पर्सा इञ्चार्ज पिएल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
केन्द्रीय सदस्य तथा पर्साका सह–इञ्चार्ज मनोज चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पर्साका सह–संयोजक बाबुराम कौशिकले राखेका थिए ।
कार्यक्रममा प्रदेश सह–इञ्चार्ज श्रीलाल साह, सह–संयोजक क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ सह–संयोजक सुधीर साह, पर्साका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटि सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपाका पूराना नेताहरु तथा केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, रामचन्द्र साह, बालगोपाल थापा, रामबाबु बैठा लगायतका नेताहरु भने कार्यक्रममा अनुपस्थित रहेका थिए ।

