वीरगंज । वीरगंज महानगरपालिकाले असोज १२ गतेदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन हुने भएको छ ।
नगरवासीलाई कर तिर्न सहज हुने गरी सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको हो।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ असोज १२ गतेदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गरिने व्यवस्था मिलाइएको छ ।
यससँगै मालपोत कर बुझाउन महानगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ। महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको बताए ।
उनले महानगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई सकेसम्म नगरवासीको घरदैलो नजिक पुर्याउने र सेवा लिनका लागि हुने समय तथा खर्चको बचत गराउनेतर्फ महानगरपालिका निरन्तर अघि बढिरहेको बताए ।
अब नगरवासीले आफ्नै वडा कार्यालयबाट मालपोत कर बुझाउन सक्नेछन्। कर संकलनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउनसमेत आग्रह गरिएको छ।

