वीरगन्ज । नेपाली कम्युनिस्ट पार्टीका पूर्वप्रधानमन्त्री तथा सह-संयोजक माधवकुमार नेपाल र मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव सम्मिलित टोलीले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित क्षेत्रमा पुगी स्थलगत निरीक्षण तथा राहत वितरण गरेको छ।
भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट विस्थापित एवं प्रभावित बनेका नुवाकोट र रसुवाका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले टोलीले रु. १२ लाख बराबरको सिरक तथा अत्यावश्यक राहत सामाग्री हस्तान्तरण गरेको छ।
राहत वितरणसँगै नेताद्वयले धादिङको बैरेनी, गल्छी गाउँपालिका हुँदै रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकन तथा निरीक्षण गरेका छन्।
सो क्रममा स्थानीय प्रभावितहरूसँग भेटघाट गर्दै टोलीले उनीहरूका समस्या, क्षति र तत्कालीन आवश्यकताका विषयमा जानकारी लिएको छ।
निरीक्षण तथा राहत वितरणका क्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाढी र पहिरोका कारण घरबारविहीन भएका परिवारलाई तत्काल पुनर्मूल्यांकन गरी थप राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।
त्यसैगरी मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादवले विपद्को यो कठिन घडीमा पीडित परिवारलाई हरसम्भव सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । साे अवसरमा नेकपाका नेता तथा पूर्वमन्त्री हित बहादुर तामाङ लगायत नेकपाका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

