इलाम। इलाम नगरपालिका–९ स्थित भञ्ज्याङमा प्रहरीले १५ सय किलोभन्दा बढी अवैध गाँजासहित एक थान फुलबडी ट्रक नियन्त्रणमा लिएको छ।
राजदुवाली सडकको खराब अवस्थाका कारण सवारी साधन डाइभर्सन गर्ने क्रममा चेकजाँच छाडेर चालक फरार भएपछि प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मंगलबार साँझ करिब ६ः३५ बजे मेची राजमार्ग अन्तर्गत भञ्ज्याङ क्षेत्रमा प्रहरी चौकी गोलाखर्कको चेकिङ टोली खटिएको थियो।
राजदुवाली सडकखण्डको दुरावस्थाका कारण ठूला सवारी साधनलाई केचना–कञ्चनजङ्घा सडकखण्डतर्फ मोड्न प्रहरी सहायक निरीक्षक उत्तम भुजेलको नेतृत्वमा रहेको टोलीले निर्देशन दिइरहेको थियो। सोही क्रममा ना.४ ख ८९९६ नम्बरको ट्रक प्रहरीको निर्देशन विपरीत जबर्जस्ती राजदुवालीतर्फ अगाडि बढेको थियो।
प्रहरीले ट्रक रोकेर चालकलाई सम्झाउन खोज्दा चालक सवारी साधन स्टार्ट अवस्थामै छाडेर घटनास्थलबाट फरार भएका थिए। घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवी दत्त मोतेको कमाण्डमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो।टोलीले ट्रकको सूक्ष्म चेकजाँच गर्दा भित्र ‘फल्स बटम’ ‘विशेष लुकाउने ठाउँ’ बनाएर त्रिपालले छोपेको अवस्थामा ४१ वटा बोरामा गाँजा लुकाएर राखिएको फेला पारेको थियो।
उक्त ट्रकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाम ल्याएर तौल गर्दा कुल १,५०४ किलोग्राम ६१० ग्राम गाँजा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दि । फरार चालकको खोजी कार्य तीव्र पारिनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

