बारा । बारामा भदौ महिनामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा कानून कार्यान्वयनका क्रममा १४४ वटा मुद्दा दर्ता हुनुका साथै २४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार भदौ महिनामा ३२ सामाजिक अपराध, २८ आत्महत्या, १३ सवारी ज्यान, ११ महिला तथा बालबालिका सम्बन्धी, ५ चोरी, २ ज्यानसम्बन्धी र २१ बैंकिङ कसूर तथा ठगीसहित अन्य ५३ मुद्दा परेका छन्।
प्रहरीले पुराना १ हजार २२६ मुद्दामध्ये ५६ वटा फछ्र्यौट गरेको छ भने फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरी ११ वर्ष ४ महिना २५ दिन कैद र १८ लाख ६१ हजार ५०० रुपैयाँ जरिवाना गराएको छ।
घरेलु हिंसाका १७४ उजुरीमध्ये १५२ वटा मिलापत्र गराइएको छ भने हराएका २८ मध्ये १६ जना फेला परेका छन्। लागूऔषधतर्फ ६ मुद्दामा ३ जनासहित १६८.१६ किलो गाँजा, १.९६ ग्राम ब्राउन सुगर र १८,३०० ट्याब्लेट ट्रामाडोल नियन्त्रणमा लिइएको छ।
त्यसैगरी १९,८९० लिटर अवैध मदिरा र १८ भट्टी नष्ट, ९ लाख ६८ हजार बढीको भन्सार छलीका सामान, ७ वटा अवैध बालुवा(गिट्टी ट्र्याक्टर र ४८.५४ क्युबिक फिट सालको काठ बरामद गरिएको छ।
भदौमा भएका ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु र १२२ जना घाइते भएका छन् भने नियम उल्लङ्घन गर्ने ९९९ सवारी साधनबाट ९ लाख ८५ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।
प्रहरीले ३,५२३ वटा विभिन्न गस्ती ड्युटी सञ्चालन गर्नुका साथै समुदाय(प्रहरी साझेदारीमार्फत १३१ सचेतना कार्यक्रम गरी हजारौँ नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ।

