काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
गएको भदौ १० गते रसुवाको भेटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका पत्रकार थामीको खोजी गर्दा अहिलेसम्म फेला नपरेपछि उनी जीवित नरहेको पारिवारिक निष्कर्षपछि उनको शनिबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।
नयाँ पत्रिका कार्यरत टेकराज थामी भदौ १० गते बाढी आउनु अघि रसुवाको सीमा नाकामा रिपोर्टिङका लागि गएका थिए । त्यहि बेला भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका उनी अहिलेसम्म फेला परेका थिएनन् ।
उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले जानकारी दिए ।
उनको असामयिक निधनको खबरले सिंगो पत्रकार महासंघ स्तब्ध भएको र नयाँ पत्रिका लगायतका सञ्चारमाध्यममार्फत उनले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान र उनको सादगीपन सधैँ स्मरणमा रहने बताए ।
उनको भौतिक उपस्थिति नरहे पनि उनका स्मृति र सिर्जनाहरू सधैँ जीवित रहने पत्रकार महासंघले जनाएको छ । महासंघका अध्यक्ष निर्मला शर्मा सहितको टोली पशुपति आर्यघाटमा पुगेर टेकराज थामीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

