वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्साको पकाहाँमैनपुरबाट रु.१० लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद गरेको छ।
जिल्लाको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवास्थित गाई–भैँसीको भुस राख्ने गोठमा लुकाई–छिपाई राखिएको अवस्थामा सशस्त्र प्रहरीको टोलीले सो बेवारिसे कपडा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरिबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा छापामारी विभिन्न किसिमका अवैध कपडाहरू नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सम्पूर्ण कपडाहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश चन्द्र भट्टका अनुसार सीमा क्षेत्रमा हुने अवैध तस्करी तथा चोरीनिकासी नियन्त्रण अभियानलाई थप कडाइ गरिएको छ।

