वीरगन्ज । मधेसवादी दल लगायत कम्युनिष्ट विचारधारबाट अलग भएका दलहरुको संयुक्त मोर्चा ‘अग्रगामी मोर्चा’ को मधेस प्रदेश स्तरीय भेलाको तयारी सम्पन्न भएको छ ।
शनिबार वीरगन्जको नगरसभा गृहमा हुन लागेको मधेस प्रदेश स्तरीय अभिमूखीकरण कार्यक्रमको तयारी पूरा भएको मोर्चाको एक घटक प्रगतिशील लोकतान्त्रिक पार्टीका मधेस प्रदेश अध्यक्ष अमिताभबच्चन दासले जानकारी दिए ।
नौवटा पार्टी मिलेर गठन गरिएको ‘अग्रगामी मोर्चा’ ले कार्यकर्ताहरुलाई अभिमुखीकरणको आयोजना गरेको हो । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, हरिनन्दन अम्बेडेकरको राष्ट्रिय बहुजन एकता पार्टी लगायतका नौवटा पार्टीले अग्रगामी मोर्चा बनाएर राजनीतिक सक्रियता बढाएका छन् ।
शनिबार वीरगन्जमा हुने अभिमुखीकरण कार्यक्रममा उपेन्द्र यादव, डा.सिके राउत, जनार्दन शर्मा, प्रभु साह, रेशम चौधरी, रिजवान अन्सारी, हरिनन्दन अम्बेडेकर लगायत राष्ट्रिय अध्यक्षहरु सबैले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाका सदस्य तथा प्रलोपा मधेस प्रदेश अध्यक्ष दासले बताए ।

