वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले भन्सार छलि गरी भित्र्याइएका ठूलो परिमाणका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले असोज १ गते बिहीबार बिहान ६ः०० बजेदेखि साँझ ६ः०० बजेसम्मको १२ घण्टाको अवधिमा विभिन्न स्थानबाट राजस्व छलीका सामान बरामद गरी दाखिला गरेको हो।
सशस्त्र प्रहरीको टोलीले कुल ४ लाख ५२ हजार ४२३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए ।
उनका अनुसार बरामद सामग्रीमध्ये ३ लाख ४५ हजार ४२३ रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा दाखिला भइसकेको छ भने बाँकी १ लाख १० हजार रुपैयाँ बराबरको सामान दाखिला प्रक्रियामा रहेको छ ।
त्यस्तै, अवैध रूपमा भित्र्याइएको करिब ६ हजार रुपैयाँ मूल्य बराबरको २० क्यारेट सेतो अण्डा बरामद गरी नियन्त्रणमै नष्ट गरिएको छ।
यसैगरी, छोटी भन्सार कार्यालय ठोरीबाट ६ वटा र छोटी भन्सार कार्यालय भिष्वाबाट १५ वटा गरी कुल २१ वटा भारतीय सवारी साधन नेपाल प्रवेश (इन्ट्री) भएको सशस्त्र प्रहरीले जनाएको छ।

