वीरगञ्ज। भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटरलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानहरूमा गैरकानुनी रूपमा चलाइरहेको अवस्थामा अन्दाजी आठ लाख रुपैंया बराबरका ती स्कुटरहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चत्र बहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार भदौ ३१ गते बुधबार अपराह्न करिब ४ः०० बजे प्रहरी टोलीले ती सवारी साधनहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सबै स्कुटरहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

