वीरगञ्ज। राज्यले प्रहरीलाई सुरक्षा र कानून कार्यान्वयनका लागि परिचालन गरेको हुन्छ । त्यस बाहेक अन्य क्षेत्रमा पनि प्रहरीको प्रत्यक्ष सरोकार र सक्रियता भने रहनु स्वभाविक हो ।
पर्सा जिल्लामा पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित पर्यटन कार्यालय हो । तर, पर्यटन कार्यालय यस्ता कामहरुमा भने निष्क्रिय देखिन्छ । मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्सा र बारा कार्यक्षेत्र हेर्नेगरी वीरगन्जमा स्थापना गरिएको पर्यटन कार्यालय वीरगन्जको स्थापनाकालदेखि गरेका कार्यप्रगतिको खासै उपलब्धि देखिएको छैन ।
पर्यटन कार्यालयको काम पर्यटन विकासका लागि निर्माण हुने पूर्वाधार संरचनाको ठेक्का लगाउने र कमिसन लिने बाहेकका अन्य प्रगति शुन्य प्रायः देखिन्छ ।
त्यही भएर पनि पर्साको पर्यटन प्रवर्द्धन तथा आन्तरिक एवं बाह्य पर्यटकहरूको सुरक्षा र सहजीकरणलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय पर्साले एक नयाँ प्रविधिमैत्री नवप्रवर्तन कार्यको सुरुवात गरेको छ।
प्रहरीले पर्यटकीय स्थलहरूको सम्पूर्ण विवरण र आवश्यक सूचनाहरू एकै ठाउँमा पाइने गरी अनलाइन पोर्टल तथा क्यूआर कोड प्रविधि सञ्चालनमा ल्याएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी प्रेस विज्ञप्ति अनुसार जिल्लाभित्र रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रहरूको पहिचान गरी ती स्थानहरूसम्म पुग्ने सहज माध्यमका रूपमा यो प्रविधि विकास गरिएको हो।
अब पर्यटकहरूले https://parsatourism.pages.dev अनलाइन साइट वा तोकिएको क्यूआर कोड स्क्यान गरी आफूलाई चाहिने सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्।यस डिजिटल प्लेटफर्ममार्फत वीरगञ्जबाट पर्यटकीय स्थलसम्म पुग्न लाग्ने अनुमानित समय, सडक तथा यातायातको अवस्था, Google Maps को लोकेसन, खानपिन तथा बसोबासका लागि नजिकै रहेका होटल, रेस्टुरेन्ट र रिसोर्टहरूको सुविधाबारे विस्तृत जानकारी पाउन सकिनेछ।
यसका साथै यात्राका क्रममा आइपर्ने आपतकालीन अवस्थालाई सम्बोधन गर्न नजिकको प्रहरी कार्यालय, सम्पर्क फोन नम्बर र नजिकका अस्पतालहरूको विवरणसमेत समावेश गरिएको छ, जसले पर्सा भ्रमणमा आउने पर्यटकहरूको सुरक्षा र यात्रालाई अझ सहज र सुरक्षित बनाउने विश्वास प्रहरीले लिएको छ।

