वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य बुद्धि प्रसाद (हरि) पन्तले जेन्जी आन्दोलनमा सहभागी युवाहरूमाथि लागेका मुद्दा फिर्ता लिन र जेलमा रहेकाहरूलाई यथाशीघ्र रिहा गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले देशमा व्याप्त बेथिति, दण्डहीनता र भ्रष्टाचारका विरुद्ध जेन्जी युवाहरूले गरेको विद्रोह तथा अर्थपूर्ण राजनीतिक हस्तक्षेपको उच्च प्रशंसा गरे।
संसद्को बैठकलाई सम्बोधन गर्दै सांसद पन्तले आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
अघिल्लो सरकारको समयमा २४ गते भएको घटना र त्यसपछिको राजनीतिक परिवर्तनलाई स्मरण गराउँदै उनले आन्दोलनको जगमा देशमा नयाँ राजनीतिक दिशा कायम भएको उल्लेख गरे।
सम्बोधनका क्रममा सांसद पन्तले आन्दोलनबाट राजनीतिक परिवर्तन भए पनि त्यस विद्रोहमा सहभागी धेरै युवाहरू आज पनि जेलमा रहन बाध्य भएको, कतिपयले मुद्दा खेपिरहेको र कतिपय फरार हुनुपर्ने अवस्था रहेको भन्दै दु:ख व्यक्त गरे ।
”गोली खाने र खान तयार हुने चाहिँ दोषी हुने अनि गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने यो कस्तो न्याय हो?” भन्दै उनले संसद्मा प्रश्न उठाए ।
यदि आन्दोलनमा सहभागी युवाहरू दोषी हुन् भने त्यही आन्दोलनको बलमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि, मन्त्री र प्रधानमन्त्रीसमेत दोषी ठहरिनुपर्ने तर्क राखे।
सांसद पन्तले सभामुखमार्फत जेन्जी आन्दोलनमा जेल परेका, मुद्दा लागेका र घाइते भएका युवाहरूलाई अविलम्ब न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

