काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको जनधनको क्षतिप्रति आपत्तिजनक अभिव्यक्ति दिँदै जातीय सद्भाव भड्काएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
साइबर ब्युरोको टोलीले बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी–१२ बलम्बु बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडैलाई नियन्त्रणमा लिएको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिलाई लक्षित गर्दै मडैले विभिन्न जातजातिलाई होच्याउने, अपमानित गर्ने र मानवीय विपत्तिमा खुसी व्यक्त गर्ने खालको भिडियो बनाएर फेसबुक रिल्समा सम्प्रेषण गरेका थिए।
उक्त भिडियोले सामाजिक सहिष्णुता र धार्मिक–जातीय सद्भावमा आघात पुर्याएको निष्कर्षसहित साइबर ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान अघि बढाएको थियो। विशेष टोलीले उनलाई आइतबार बलम्बु क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका मडैविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

