संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको भरुवा बन्दुकको गोली प्रहार गरी हत्या गरिएको छ।
गएराति करिब ७ बजे विद्यालय परिसरमै खाना खाएर हात धुन बाहिर निस्किएका बेला उनीमाथि अज्ञात समूह वा व्यक्तिले गोली हानेको हो। देब्रे कोखमा गोली लागेका शिक्षक राईको घटनास्थलमै मृत्यु भएको छ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा पर्ने भएकाले प्रहरी टोली पुग्ने क्रममा छ।
शिक्षक राईमाथि कसले र किन गोली प्रहार गर्यो भन्नेबारे अझै खुल्न सकेको छैन भने प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु भइसकेको र टोली घटनास्थल पुगेपछि थप विवरण प्राप्त हुने जनाएको छ।

