काठमाडौं । रसुवामा भीषण बाढी आएपछि उद्धार, राहत तथा आगामी रणनीति तय गर्न प्रधानमन्त्री बालेन शाहले उच्च स्तरीय बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाको प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिएका छन् ।
स्थिति नियन्त्रण र सहायताका लागि छिमेकी जिल्लाहरूबाट समेत अतिरिक्त सुरक्षाकर्मी र जनशक्ति पठाइसकिएको उनले बताएका छन् ।
विपद् व्यवस्थापन प्राधिकरणलाई पूर्ण क्षमतामा सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट र नेपाल रेडक्रस सोसाइटीजस्ता निकायहरूसँग एकीकृत समन्वयमा काम भइरहेको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोली खटाइसकिएको छ।
बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई कडा निर्देशन दिइएको छ।
त्यसैगरी, स्थानीयवासीलाई सम्भावित जोखिमबाट बचाउन एसएमएस र फोन कल मार्फत पूर्वसूचना पठाइँदै सचेत गराइएको छ।आपत्कालीन उद्धार कार्यलाई ध्यानमा राख्दै सरकारी तथा निजी क्षेत्रका सबै हेलिकप्टरहरूलाई तयारी अवस्थामा ९स्ट्यान्डबाइ० राख्न निर्देशन जारी गरिएको छ।
प्रधानमन्त्री शाहले सबै नागरिकलाई धैर्य र सजग भई सुरक्षित स्थानमा बस्न अपिल गर्नुभएको छ। आफन्तहरूसँग सम्पर्क हुन नसकेको खण्डमा अत्तालिएर जोखिम नमोलि सरकारी निकायबाट आउने अद्यावधिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरिएको छ।
राहत, उद्धार तथा थप जानकारीका लागि जुनसुकै समयमा आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।

