रसुवा। रसुवाको टिमुरे बजारमा आज बिहान ९ बजे आएको आकस्मिक बाढीले तटीय बस्तीमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण ड्युटीमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर अम्विर खत्रीसहित ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
स्रोत अनुसार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) भवनमा भने बाढीले कुनै क्षति पुर्याएको छैन। बीओपीमा कार्यरत कुल ३० जना सशस्त्र प्रहरीमध्ये ६ जना बिदामा रहेको र १५ जना सुरक्षित अवस्थामा रहेको जनाइएको छ।
बाढीका कारण सो क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोली समेत हालसम्म सम्पर्कमा आउन सकेको छैन। घटना लगत्तै खोजी तथा उद्धार कार्य तीव्र पारिएको र घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको छ।
बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति आएको बताइएको छ ।
यी कार्यालय र त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुको विवस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

