बीरगञ्ज। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रका युवा नेतृत्व पंक्तिले पार्टीका पर्सा जिल्ला इन्चार्ज पी.एल. श्रेष्ठ, संयोजक जय प्रकाश थारू, सह–संयोजक बाबुराम कौशिक र गंगा खड्कालाई एक संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन्।
पार्टीभित्र सङ्गठनात्मक न्याय, विधि, प्रक्रियाको पालना, युवा नेतृत्वको उचित व्यवस्थापन तथा सम्मानजनक अवसर सुनिश्चित गर्न माग गर्दै युवा नेताहरूले नेतृत्वको ध्यान खिचेका हुन्।
ध्यानाकर्षण पत्रमा पार्टीलाई कुनै व्यक्तिविशेषमा केन्द्रित नगरी विधि, प्रक्रिया, योग्यता, निरन्तरता र सङ्गठनात्मक क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गर्ने संस्कार विकास गर्न जोड दिइएको छ।
आन्दोलन र सङ्गठन निर्माणमा लामो समयदेखि सक्रिय युवाहरूलाई पाखा लगाउँदा कार्यकर्तामा निराशा छाउने र पार्टीको आन्तरिक जीवनमा असर पर्ने उल्लेख गर्दै यो पहल कसैको विरोध वा विस्थापनका लागि नभई समान अवसर र न्यायपूर्ण व्यवस्थापनका लागि भएको स्पष्ट पारिएको छ।
युवा नेताहरूले बुझाएको पत्रमा मुख्य रूपमा ९ बुँदे माग तथा सुझावहरू अघि सारिएका छन् । युवाहरुले दिएको ज्ञापनपत्र बुझ्दै नेकपा पर्साका इञ्चार्ज पिएल श्रेष्ठले नेपाली कम्युनिष्ट पार्टीमा काम गर्ने युवाहरुलाई ७० प्रतिशत स्थान दिन प्रतिबद्धता जनाएका छन् ।
विगतका आन्दोलनहरुमा पनि युवापंक्तिकै भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै अब पार्टीमा समर्पित हुने ७० प्रतिशत युवाहरुलाई स्थान दिईने आश्वासन दिए ।
ध्यानाकर्षण गराउने युवा नेतृत्व पंक्तिमा अखिल नेपाल खेलकुद महासङ्घका सचिव तथा नेकपा मधेश प्रदेश समिति सदस्य प्रभाकर गुप्ता, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा नेकपा मधेश प्रदेश समिति सदस्य मिरोज अहमद, अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य ज्योति सहनी,
अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य अनिस पटेल, अखिल नेपाल खेलकुद महासङ्घ पर्साका जिल्ला अध्यक्ष दीपक महतो, जिल्ला सचिव पप्पु सराफ, मधेश प्रदेश सदस्य हिमाल सागर कुम्वर,
वाईसीएल नेपालका नेता तथा नेकपा मधेश प्रदेश समिति सदस्य महेश पटेल, नेकपा मधेश प्रदेश समिति सदस्य सरिफ गद्दी, र मधेशी मुक्ति मोर्चाका जिल्ला संयोजक तथा प्रदेश सदस्य महेश चौरसिया लगायतका युवाहरूको सहभागिता रहेको थियो।

