वीरगञ्ज। भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका १४ वटा भारतीय इलेक्ट्रिक स्कुटर जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।
भारतबाट राजस्व छलेर ल्याई नेपालमा चलाई रहेका अन्दाजी ११ लाख २० हजार रूपैयाँ बराबरका विद्युतीय स्कुटरहरु प्रहरी टोलीले बरामद गरेको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सीमावर्ती नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा ती स्कुटरहरू फेला पारेको जनाएको छ।
नियन्त्रणमा लिइएका सबै स्कुटरहरू थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
पछिल्लो समय सीमा नाकाहरूबाट हुने चोरी–पैठारी तथा राजस्व छली नियन्त्रणका लागि पर्सा प्रहरीले निगरानी र गस्ती तीव्र पारेको छ। सीमा क्षेत्रमा हुने यस्ता गैरकानुनी गतिविधि रोक्न थप कडाइ गरिएको र चोरी–पैठारीमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

