सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका(६ सलोखरी दास टोलबाट हातहतियारसहित तीन जना युवक प्रहरीको नियन्त्रणमा परेका छन्।
पक्राउ पर्नेमा लहान नगरपालिका–२२ का १९ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी–६ का २० वर्षीय साबरजित दास रहेका छन् ।
उनीहरुलाई मङ्गलबार राति नियन्त्रणमा लिइएको हो। फुलबारीबाट आउँदै गरेका उनीहरूलाई राति करिब १०ः३० बजे प्रहरी चौकी सितापुरको प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादव नेतृत्वको टोलीले शङ्का लागेर जाँच गर्दा साबरजितको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएको थियो।
नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान पठाइएको छ। हतियारको स्रोत र सम्भावित प्रयोगबारे सुक्ष्म अनुसन्धान भइरहेको तथा अनुसन्धान सकिएपछि आवश्यक कानुनी कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले बताए ।

