वीरगन्ज — नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि सुरु भएको विवादले उग्र रूप लिँदा वीरगन्जको स्वास्थ्य सेवा ठप्प भएको छ ।
शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्दै चिकित्सकमाथि साघातिक आक्रमण गरेका थिए।
बिरामीका आफन्तको कुटपिटबाट गम्भीर घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामको अवस्था असमान्य भएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
अस्पताल तोडफोड र चिकित्सकमाथि कुटपिटपछि अस्पताल प्रशासन र प्रहरीसहितको बैठकले छानबिन समिति गठन गर्दै कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
तर, बिनासर्त निलम्बन फिर्ता हुनुपर्ने र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग राख्दै नेपाल चिकित्सक संघ, नारायणी शाखाले आकस्मिक सेवासमेत बहिष्कार गरी अनिश्चितकालीन हड्तालको घोषणा गरेको छ।
चिकित्सक संघका प्रवक्ता तथा सह–सचिव अजय कुमार यादवद्वारा जारी विज्ञप्तिमा मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ बमोजिम दोषीमाथि तत्काल कारबाही गर्न, अवैज्ञानिक छानबिन समिति खारेज गर्न र सुरक्षित कार्यवातावरणको ग्यारेन्टी गर्न माग गरिएको छ।
यद्यपि, घटनापछि गठन गरिएको छानबिन समितिका सदस्य डा। निरज सिंहले केन्द्रीय तहबाट उच्चस्तरीय र निष्पक्ष छानबिनको बाटो खुला गर्न भन्दै समितिबाट राजीनामा दिएका छन्।
हड्तालका कारण सरकारी तथा निजी अस्पतालका सेवा प्रभावित हुँदा हजारौँ निरपराध बिरामी उपचारबाट वञ्चित भएका छन्।
कानुनी बाटो छाडेर चिकित्सकमाथि भौतिक आक्रमण गर्नु पीडित पक्षको गम्भीर त्रुटि भएको र अर्कोतर्फ चिकित्सकहरूले आकस्मिक सेवा नै रोकेर बिरामीको जीवन जोखिममा पार्नु दुवै कदम गैरजिम्मेवार र मानवता विरोधी भएको अधिकारकर्मी तथा सर्वसाधारणको भनाइ छ।
अस्पतालमा भएको घटनाको विषयमा जिल्ला प्रशासन कार्यालयले गम्भीर रुपमा हेरेको भन्दै यसको समाधानका लागि पहल भईरहेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
यसैबीच नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मृतक बिरामीप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा बिरामीको जीवन बचाउन अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडको कडा शब्दमा निन्दा गरिएको छ।
उपचारका क्रममा कुनै त्रुटि वा लापरबाही भएको शङ्का लागेमा त्यसको निष्पक्ष छानबिन र न्यायका लागि प्रचलित कानुनबमोजिमका स्पष्ट व्यवस्था विद्यमान रहेको स्मरण गराउँदै मन्त्रालयले स्वास्थ्य क्षेत्रमा हुने जुनसुकै प्रकारका हिंसात्मक घटनाप्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याएको छ।
स्वास्थ्य क्षेत्र एक अत्यन्त संवेदनशील क्षेत्र भएकाले उपचार प्रक्रियामा संलग्न सेवाग्राही र सेवा प्रदायक दुवै पक्षले यसको गम्भीरता बुझ्नुपर्ने मन्त्रालयको भनाइ छ।
अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कुनै पनि किसिमको डर, त्रास र धम्कीमुक्त भई सुरक्षित तथा उच्च मनोबलका साथ निरन्तर सेवामा समर्पित हुने वातावरण बनाउन सरकार पूर्ण रूपमा कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले घटनामा संलग्न दोषीहरूलाई तत्काल पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
साथै, सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आफ्नो सेवा सुचारु राख्न आग्रह गर्दै सर्वसाधारण तथा स्थानीय सरोकारवालाहरूलाई पनि संयमित भई अस्पतालको अत्यावश्यक सेवा निरन्तर सञ्चालन हुने वातावरण बनाइदिन हार्दिक अपिल गरिएको छ।

