वीरगन्ज । वीरगन्जबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित एकजना वृद्धलाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरस्थित बहिरा विद्यालय अगाडिको सडकखण्डबाट ७२ वर्षीय नारायण बहादुर के.सी.लाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब ४ः२० बजे शंकास्पद रूपमा पैदल हिँडिरहेका के.सी.लाई रोकेर खानतलासी गर्दा उनको पाइन्टको दाहिने खल्तीबाट सेतो पारदर्शी प्लाष्टिकको पोका फेला परेको थियो।
उक्त पोका खोलेर हेर्दा भित्र रहेका १५ वटा साना कागजी पुरियासहित ४०.७४ ग्राम र कागज बाहेक २१.९१ ग्राम (एकाइस ग्राम एकानब्बे मिलिग्रामं) खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
वीरगन्ज महानगरपालिका–१२ मुरलीचोक निवासी के.सी.को पाइन्टको बायाँ खल्तीबाट अर्को एक कागजी टुक्रा समेत बरामद भएको छ। उक्त टुक्रामा पूर्वकारोबारीहरू जाहिर मियाँ र इम्तियाज मियाँको नाम उल्लेख हुनुका साथै रु.५ हजार मिलिग्राम लेखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार बरामद पदार्थसहित नियन्त्रणमा लिइएका के.सी.माथि लागूऔषध ऐनअनुसार थप अनुसन्धान भइरहेको छ।

