वीरगन्ज । वीरगन्ज कलेजको कक्षा ११ मा भर्ना भएका एभरेष्ट सेक्सनका विद्यार्थीहरुलाई (इपीएस) प्रभावकारी बोल्ने कलाको प्रशिक्षण दिईएको छ ।
कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको आत्मविश्वास बढाई व्यक्तित्व विकास गर्नका लागि पाठ्यक्रम बाहेक कलेजले तयार गरेको अतिरिक्त पाठ्यक्रम अनुसार यो तालिम दिईएको हो ।
एपेक्स म्यानेजमेण्ट कलेजको सभाकक्षामा भएको तालिमको कलेज सञ्चालक समितिका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले उद्घाटन गरेका थिए ।
प्रशिक्षणको उद्घाटन गर्दै डा.चौधरीले अहिलेको प्रतिस्पर्धात्मक युगमा व्यक्तिको आत्मविश्वास नबढेसम्म उसको व्यक्तित्को विकास नहुने र व्यक्तित्वको विकास नभए उसको सिकाई उपलब्धीको पनि महत्व नहुने बताए ।
त्यसैले विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक बजारमा उच्च आत्मबल सहित आपूmलाई प्रभावशाली र प्रतिस्पर्धात्मक बनाउनका लागि पनि तालिम आवश्यक रहेको बताए ।
प्रशिक्षणका क्रममा वीरगन्ज कलेजका क्याम्पस प्रमुख विनोद गुप्ताले विद्यार्थीहरुले आफूलाई अनुशासनमा राखेर धैर्यवान बन्ने र सिकाई अनुभवहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।
उनले व्यक्तित्व विकास र नेतृत्व विकासका लागि विद्यार्थीहरुले सिक्नुपर्ने आधारभूत विषयवस्तुहरु तथा अभ्यासहरुको बारेमा प्रशिक्षण दिएका थिए ।
क्याम्पस प्रमुख गुप्ताकै अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, सञ्चारकर्मीहरु नीरज पिठाकोटे, तुलसी भण्डारी, मनोज पटेल, प्रणय साह लगायतले शुभकामना दिदै विद्यार्थीहरुलाई प्रशिक्षणमा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सुझाव दिए ।
कलेजले कक्षा ११ का विभिन्न सेक्सनका विद्यार्थीहरुलाई छुट्टाछुट्टै तालिम दिएको छ । सबैलाई एकैठाउँमा राखेर तालिम दिँदा भीड बढी हुने र उनीहरुको सिकाई उपलब्धि पनि प्रभावकारी नहुने भएकोले छुट्टाछुट्टै सेक्सनका विद्यार्थीहरुलाई फरक फरक दिन पारेर तालिम दिईएको कलेजले जनाएको छ ।
कार्यक्रमको सञ्चालन कलेजका कृष्ण पासवानले गरेका थिए भने, स्वागत सञ्चालक समिति सदस्य तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले गरेका थिए ।
कार्यक्रममा कलेजका फ्याकल्टी मेम्बरहरु रजेश्वर प्रसाद चौधरी, दीपेश कुमार दास लगायतको उपस्थिति रहेको थियो ।

