वीरगन्ज । वीरगन्ज महानगरमा विगत तीन दिनदेखि अवरुद्ध विद्युत आपूर्ति तत्काल सहज गर्न पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले निर्देशन दिएका छन् । वीरगन्जमा तीन दिनदेखि विद्युत आपूर्ति अनियमित हुँदा स्थानीयको जनजीवन कष्टकर भएको थियोे ।
विद्युत आपूर्तिमा भएको समस्याको जानकारी पाएसंगै काठमाडौमा रहेका सांसद पन्त विद्युत प्राधिकरण र खानेपनीको आपूर्तिको लागि बिरगंज महानगरसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेर समन्वय गरि रहेका थिए ।
बिहीबार राती वीरगंज आइपुगेका पन्तले शुक्रबार जिल्ला प्रशासन कार्यलय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल समेतलाई राखेर नेपाल विद्युत प्राधिकरण पर्साका प्रमुख बिजय महतोसँग समस्याको बारेमा जानकारी लिएका थिए ।
विद्युतमा भएको असहजताको बिषयमा गम्भीर चासो राख्दै यसको तत्कालै समाधान गर्न र आगामी दिनमा यस्तो समस्या आउन नदिन निर्देशन दिए ।
सांसद पन्तले विद्युत अवरुद्ध भएको विषयमा राखेको चासोको जवाफ दिने क्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुख बिजय महतोले हाल भूमिगत रहेको विद्युत प्रसारण लाइन, पर्सौनी ग्रीडबाट ३३ केभिएको छपकैया सबस्नटेसनमा लानका लागि गत माघ महिनामै तयारी गरिएपनि अमर (बोखार) चौक आसपासका केही स्थानीयले तत्कालिन अबस्थामा अबरोध गरेकाले अहिले यो समस्या आएको बताए ।
तर बिहीबार नै अबरोध हटाएर त्यहाँ तार तान्ने काम भएको र अब केही बाँकी रहेकोले शुक्रबार राति ९ बजे सम्म विद्युत पुर्ण रुपमा सुचारु हुने जानकारी गराए ।

