वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३०, लालपर्सास्थित स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टर (प्रसूति गृह) लाई उपकार सेवा नेपालले तीन थान सिलिङ्ग पंखा सहयोग गरेको छ।
सेवाग्राहीको सुविधा र बढ्दो गर्मीलाई मध्यनजर गर्दै संस्थाले उक्त सहयोग उपलब्ध गराएको हो। उपकार सेवा नेपालकी अध्यक्ष विन्ध्या कुमारी सरावगीले आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य चौकीका कार्यालय प्रमुख नवराज ठाकुर तथा सहायक कर्मचारी प्रभात चन्द झालाई उक्त पंखाहरू हस्तान्तरण गरेकी हुन् ।
सामान बुझ्दै स्वास्थ्य चौकीका प्रमुख ठाकुरले यो सहयोगले बर्थिङ्ग सेन्टरमा आउने सुत्केरी महिला तथा नवजात शिशुहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी प्रकाश थारु लगायत गाउँका भद्रभलादमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दूरदराजका गाउँठाउँहरूमा पुगेर असहाय, विपन्न तथा आवश्यकता परेका नागरिकहरूलाई निरन्तर सहयोग गर्दै आइरहेको छ।

