वीरगन्ज । पुरक एशिया नामक संस्थाले नेपालमा आर्थिक अवसर र रोजगारीमा नागरिक दृष्किोण सम्बन्धमा गरेको सर्वेक्षण सार्वजनिक गरेको छ ।
सर्वेक्षणले नेपालको आर्थिक अवसरको अवस्था, प्रमुख चुनौती र अवसरको उपलब्धतामा देखिएका जटिल यथार्थहरुलाई उजागर गरेको छ ।
सर्वेक्षणमा ९२ प्रतिशत नागरिकमा देशमा अवसर नभएकै कारणले युवाहरु विदेशिएका हुन् भन्ने सामूहिक धारणा स्थापित गरेको पाईएको र अर्कोतिर उपलब्ध सीमित अवसरहरुको वितरणमा पनि चरम असन्तुलन र पहुँचवालाहरुको दबदबा रहेको पाईएको सर्भेक्षणमा सहभागी अनुसन्धानदाता तिलक पाठकले बताए ।
नेपालको समस्या केवल अवसरको अभाव मात्रै होईन विद्यमान अवसरहरुमा आम नागरिकको न्यायोचित पहुँच पनि हो भन्ने सर्भेक्षणले चित्रण गरेको संस्थाको बुझाई छ ।
सर्वेक्षणले व्यावसायिक आत्मविश्वासमा संकट देखाएपनि भविष्यप्रतिको आशावादीलाई भने सकारात्मक उर्जाका रुपमा लिन सकिने देखाएको छ ।
मधेस, लुम्बिनी र उपत्यकाका जिल्लाहरुमा गरिएको सर्वेक्षणबाट नागरिकको बुझाई र भोगाईलाई उजागर गरेर नीति निर्माताहरु सामु ल्याउने त्यसकै आधारमा आमनागरिकको पहुँच बढाउन सर्वेक्षणले भूमिका खेल्नेमा विश्वस्त रहेको संस्थाको भनाई छ ।
वीरगन्जमा प्राध्यापक तथा सञ्चारकर्मीहरुसँगको छलफलमा सर्वेक्षणले नेपाली समाजको अर्थ सामाजिक परिदृश्य बाहिर ल्याइ यसलाई सबैपक्षबाट सर्वस्वीकार्यता प्राप्तीका लागि आवश्यक सल्लाह, सुझाव र प्रतिक्रियाहरु लिने काम भएको संस्थाका अनुसन्धाता प्रेमदर्शन सापकोटाले बताए ।
संस्थाले गरेको सर्वेक्षणले नेपालको वर्तमान राजनीतिक परिस्थितिको पनि पूर्वाभाष गरेको भएपनि विशेष कारणहरुले त्यसको सार्वजनिकीकरण भने नगरिएको छलफलमा जानकारी गराईएको थियो ।
छलफलमा सहभागी प्राध्यापक तथा सञ्चारकर्मीहरुले विषयवस्तु निकै गम्भीर र बहुउपयोगी भएको र यसले नेपालको आर्थिक, सामाजिक संरचनाको अवस्थाको बारेमा छर्लंग पारेकोले सर्वेक्षण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शोध पत्रकोको लागि सन्दर्भसूची र सञ्चारकर्मीहरुको लागि तथ्यांकीय विषयवस्तुहरुमा उपयोगी हुने बताएका थिए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले आर्थिक अवसर, रोजगारी र लगानी तीनवटै क्षेत्र अर्थतन्त्रका आधारभूत विषयहरु नै भएकोले सर्वेक्षणमा समेटिएको विषयहरु राम्रो रहेको बताए ।
रोजगारीको सृजनाका लागि औद्योगिकरण नै भएपनि सेवामूलक क्षेत्रमा लगानी बढेको तर उत्पादनमूलक सरकारी उद्योगहरु पनि बन्द हुनुले यसले आर्थिक अवसर र रोजगारीमा समस्या निम्त्याएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, कान्तिपुरका शंकर आचार्य, कारोबार दैनिकका नीरज पिठाकोटे, बिबिसी नेपाली सेवाकी माधुरी महतो, वीरगन्ज सिटीडटकमका जियालाल साह, मध्यनेपाल सन्देशकी कविता खड्का लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
त्यसअघि संस्थाले मधेस विश्वविद्यालय लगायत वीरगन्जका विभिन्न क्याम्पसका प्राध्यापकहरुसँग छलफल गरेको थियो । बुधबार जनकपुरमा प्रदेशसभा सदस्यहरु, विभागीय मन्त्री तथा सञ्चारकर्मीहरुसँग छलफल गरेको संस्थाकी सृष्टि अधिकारीले जानकारी दिईन् ।
कार्यक्रमकाे सहजीकरण शिवनाथ यादवले गरेका थिए ।

