वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले पर्साको वीरगञ्जमा विशेष सूचनाका आधारमा छापा मारेर लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका–१६ स्थित फुलबारी टोलमा रहेको एक घरमा भारतबाट भन्सार छली ल्याइएका सामान भण्डारण गरिएको सूचना पाएपछि सशस्त्र प्रहरीको टोलीले छापा मारेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वटर पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमाण्डमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिको संयुक्त टोलीले सो कारबाही गरेको हो।
संयुक्त टोलीले स्थानीय उषा अधिकारीको तीनतले पक्की घरका ११ वटा कोठामा खानतलासी गरेको थियो। त्यस क्रममा भन्सार छली ल्याइएका २ हजार ८ सय ४८ मिटर टेबल पोस (टेन्टमा प्रयोग हुने कटन कपडा), १३ पिस तयारी टेबल पोस र ३५ प्याकेट एयर कन्डिसनर (एसी) को स्ट्यान्ड बरामद गरिएको छ।
बरामद गरिएका यी सामानहरूको अनुमानित बजार मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
यसैगरी, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको मोबाइल टोलीले सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजान लागिएको स्याउ बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका–१६ भन्सार टोल क्षेत्रमा हिजो राति ९स्०० बजे गस्तीमा रहेको टोलीले ३३ कार्टुन ९६२० केजी० स्याउ नियन्त्रणमा लिएको हो।
बरामद गरिएको स्याउको बजार मूल्य ६३ हजार ५०० रुपैयाँ अनुमान गरिएको छ। उक्त स्याउ आवश्यक कारबाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

